×

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रिय कार्यालय, संकाय, निर्देशनालय एवं आंगिक कलेजहरुका आर्थिक प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि ‘न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स’ तालिम सञ्चालन गरिएको छ ।

पाँच दिनसम्म सञ्चालन भएको सो तालिमको समापन समारोह कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको हो । तालिम समापन समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयका सम्पूर्ण आर्थिक प्रशासनलाई एकै पटक दिईएको तालिमले विश्वविद्यालयको आर्थिक गतिविधीमा एकरुपता ल्याउने बताउनुभयो । डा. काफ्लेले आर्थिक गतिविधीलाई पारदर्शी, मितव्ययी बनाउँदै सुशासन कायम गर्नुपर्ने आवश्यकतालाई तालिमले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले विश्वविद्यालयमा सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वविद्यालयले लागु गरेको ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण निर्देशिका २०८०’ का बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।

तालिम अवधिभर सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक पुरुषोत्तम शर्मा, नारायणी सिंचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकी, कोष तथा लेखा नियन्त्रक कार्यालय, चितवनका आन्तरिक लेखा परिक्षक सुनिलकुमार उपाध्याय, कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंङ्गाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल, निरीक्षण महाशाखा प्रमुख मेघराज सापकोटा, लेखा अधिकृत संजिव न्यौपाने लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नुभएको थियो ।

विश्वविद्यालयमा लागु हुन लागेको नयाँ लेखा प्रणाली, आम्दानी तथा खर्चको लेखाङ्कन, सांराशं तथा प्रतिवेदनको तयारी, लेखा तथा प्रशासन सम्बन्धी विविध फारमहरुको उचित प्रयोग लगायतका विषय तालिममा समावेश गरिएको थियो ।नयाँ बनेको लेखा व्यवस्थापन म्यानुअल नेपाल सरकारको मापदण्ड बमोजिम बनेको जानकारी दिदैं तालिमका संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले भन्नुभयो, ‘यसले विश्वविद्यालय र सो अन्तरगतका सम्पूर्ण निकायहरुको लेखा व्यवस्थापन प्रणालीमा एकरुपता आउने र विश्विद्यालयको आन्तरिक नियन्त्रण प्रणालीमा पारदर्शिता र प्रभावकारीता बढ्ने छ ।’ तालिममा विश्वविद्यालयको विभिन्न निकाय, संकाय र आंगिक कलेजमा कार्यरत ३१ जना कर्मचारीको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया