चितवन । १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडकको बसपार्क चोक–विशाल चोक खण्डको काम ७ वर्षमा पनि बन्न सकेको छैन । ठेकेदारले दैनिक ५७ हजार रुपैयाँ हर्जना तिरेको ८ महिना भइसक्दा पनि अझै काम सकिएको छैन । सडकमा पिच गरेर सक्न नपाउँदै खाल्टाखुल्टी पर्न थालेको छ । खाल्टाखुल्टीले दुर्घटनाको जोखिम बढाएको छ ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बसपार्क चोक–विशाल चोक खण्डमा मर्मत सम्भारको काम बाँकी रहेको बताए । ठेकेदारले दैनिक हर्जना तिरेर काम गरिरहेका उनले बताए । खानेपानीको पाइप फुटेर पानी निस्किएपछि सडक खाल्टाखुल्टी परेको उनको भनाइ छ ।
‘सडकको साइडमा नयाँ पाइप हालेर खानेपानी सञ्चालन नहुँदासम्म सडकमा खाल्टा पर्ने देखिन्छ’, उनी भन्छन्, ‘खानेपानी बोर्डले नयाँ पाइप पनि राखिरहेको छ । घरहरुमा धारा जोडेर पानी सञ्चालन भएपछि सडक भत्किने समस्या हट्छ ।’ उक्त खण्डको काम गौरी पार्वती निर्माण सेवा प्रालिले पाएको थियो । उसले अहिले कुल ठेक्काको दैनिक ०।०५ प्रतिशत हर्जना तिर्दै आएको छ ।
सडक भत्किएको ठाउँमा पनि खानेपानीले पाइप मर्मत गर्ने काम भइरहेको उनले बताए । २०७३ सालको पुस १९ गते ठेक्का सम्झौता भएको सडकको काम पाचौँ पटक म्याद थप्दा पनि नसकिएपछि ठेकेदारलाई हर्जना लगाइएको हो ।
सुरूआतमा केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको ६ किलोमिटर सडक ७ मिटर चौडा बनाएर कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो । यसका लागि १२ करोड ८१ लाख ८२ हजार ९४७ रूपैयाँमा सम्झौता भएको थियो।
तर केही समयमै डिजाइनमा परिमार्जनगरी बीच भागमा ‘मिडियन’ बनाएर त्यसको दायाँ–बायाँ ७–७ मिटरको कालोपत्रे सडक र दुबैतर्फ एक÷एक लेन ग्राभेल सडक बनाउने सम्झौता भयो । पहिले आँपटारीसम्म बनाउने भनिएको ६ किलोमिटर सडकलाई घटाएर ४ किलोमिटर बनाउने भनि १३ करोड ४५ लाख ८२ हजार ७९१ रुपैयाँमा सम्झौता गरिएको थियो।
विशालचोक–आँपटारीको प्रगति
बाइपासकै विशाल चोक–आँपटारी खण्डको सडक बिस्तारको काम करिब ६५ प्रतिशत सकिएको सडक डिभिजनका सूचना अधिकारी साहले बताए । सडक मेडियनको काम सकेर सडकको दुई साइडमा अस्फाल्ट गर्ने काम भइरहेको उनले बताए ।
२०७७ असार २६ गते यो खण्डलाई ६ लेनको बनाउने र विशालचोकदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको ४ लेन सडकमा थप एकरएक लेन कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो।
२६ करोड ६ लाख ६६ हजार ७५३ रुपैयाँमा २०७८ फागुन २० गतेभित्र निर्माण सक्नेगरी रायमाझी–पशुपती जेभीसँग उक्त सम्झौता भएको थियो। तर समयमै नसकिएपछि म्याद २०८० असार मसान्तसम्मका लागि थपिएको छ ।

उज्यालो खबर