विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको प्रष्ट पारेको छ ।मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष निकालेको हो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरू फिर्ता गराउने तयारी गरिरहँदा माओवादीबाहेक सरकारमा रहेका दलहरूको बैठक बसेको हो ।राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति सिटौलाले राप्रपाले यो सरकारको निरन्तरताबाहेक अरू नसोचेको बताए ।उनले भने, ‘हामीले अहिले सरकार परिवर्तनका बारेमा सोचेका छैनौं । अरूले सरकार छाडे पनि नछाडे पनि राप्रपाले सरकार छाड्दैन । दिएको समर्थन पनि फिर्ता लिँदैन ।’
छलफलमा सहभागी सामाजिक विकासमन्त्री बुद्धिकुमार राजराजभण्डारीले सरकारको निरन्तरताका विषयमा राप्रपा सकारात्मक भएको बताए ।कोशी प्रदेश सरकारमा एमालेसहित राप्रपा, माओवादी सहभागी छन् । सत्ता साझेदार माओवादीलाई सोमबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । तर, माओवादी प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरिसकेको छैन ।सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने विषयमा हिजो बसेको माओवादी संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको थियो ।



उज्यालो खबर




