चितवन । राष्ट्रपति रामचन्द्र पौडेलको कदम र भारतले अखण्ड भारतका नाममा नेपाली भूमि समेटेर संसद भवनमा नक्सा बनाएको विरोधमा युवा संघ चितवन आन्दोलनमा उत्रिएको छ । संघले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको हो ।
संघका चितवन संयोजक शंकर अधिकारी नेतृत्वको टोलीले आज प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा “राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक फिर्ता लिन र भारत सरकारले अखण्ड भारतका नाममा समावेश गरेको हाम्रो भूमीलाई सच्याउन पहल गर्नका लागी हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।”
अन्यथासरकारले दिनप्रतिदिन यसरीनै राष्ट्रहित र संविधान विरोधी क्रियाकलाप गर्दै लोकतन्त्रकै उपहास गर्ने कार्य गर्दै गए राष्ट्र र राष्ट्रियता बचाउन ज्यानको बाजी थापेर चरणवद्ध आन्दोलनको आँधिवेहरी सिर्जना गर्न राष्ट्रिय युवा संघ नेपाल बाध्य हुने चेतावनी संघले दिएको छ ।
यसैबीच संघले जेठ १९ गते बेलुका ७ बजे भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गर्ने भएको छ । अखण्ड भारतको नक्साका विषयमा सरकारको निरिह तथा लाचारीपन, नागरिकता विधेयक लगायत गठबन्धन सरकारको राष्ट्रघाती कदम विरुद्ध विरोध प्रदर्शन गर्न लागिएको संघले जनाएको छ ।

उज्यालो खबर