चितवन। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले करिब ५९० लिटर अखाद्य ‘लक्ष्मी चुक अमिलो’ आज नष्ट गरेको छ । पकाएर तयार गरिएको खुला ५५० लिटर र बोतलमा प्याकिङ गरिएको ४० लिटर उक्त पदार्थ नष्ट गरिएको हो ।
उच्च मात्रामा साइट्रिक एसिड र पिठोजन्य पदार्थ मिसाएर बनाइएको कालो पदार्थलाई चुक अमिलो भनि विक्री गरिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयाे। भरतपुर महानगरपालिका–९ बसन्त चोकस्थित लक्ष्मी चुक अमिलो उद्योगमा पुगेर उक्त पदार्थ नष्ट गरिएको हो ।
प्याकिङ गरिएको कालो पदार्थको बोतलमा उद्योगको ठेगाना खैरहनी उल्लेख छ । उत्पादन भने भरतपुरमा भइरहेको पाइएको हो । चुक अमिलो भनिने अखाद्य पदार्थ नष्ट गर्ने क्रममा उद्योगको गोदाममा छ बोरा बोरा साइट्रिक एसिड भेटिएको उहाँले बताउनुभयाे । खाद्य प्रविधिले दुई महिना अघि उद्योगमा पुगेर उक्त पदार्थको नमुना संकलन गरि परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।



उज्यालो खबर




