×

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाँण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् ।मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका छन् ।

‘तपाईहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन,’ देउवा निवासबाट फर्केका एक नेताले उनको भनाइ उधृत गर्दै भने, ‘विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका खाँणविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले संगठित ठगी, राज्यविरुद्धको कसुर अभियोग लगाउन सरकारी वकिल कार्यालयलाई राय दिएको छ । तर देउवाले उक्त प्रकरणमा खाँण संलग्न भएको विषयमा आफूलाई विश्वास नभएको देउवाले बताएका थिए ।

देउवाले आफूलाई भेट्न आएकाहरुलाई भने, ‘खाँणजी पैसामा विक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियता प्रति एकदमै प्रतिवद्ध मान्छे हो ।’ खाँणसँग आफ्नो लामो संगत भएको र पैसामा विक्ने व्यक्तिका रुपमा कहिले पनि नपाएको देउवाले बताएका थिए ।

विना प्रमाण दोषी करार गर्न खोजिएको भन्दै देउवाले यो विषय आफूले पनि बुझ्न नसकेको बताएका छन् । खाँणको विषयमा छलफल गर्न केही केन्द्रीय सदस्य र युवा नेताहरु देउवालाई मंगलबार दिउँसो धुम्बाराही पुगेका थिए ।

तपाईको प्रतिक्रिया