चितवन । नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशन भरतपुरमा चलिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनी स्थित संस्थाकै कार्यालयमा नवौँ अधिवेशन आयोजना गरिएको प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जानकारी दिए ।
अधिवेशनको एक समारोहका विच प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल तथा नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले उद्घाटन गरे । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।जिल्ला अध्यक्ष र सहसचिव बाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि हालका अध्यक्ष अनिल ढकाल र उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी कार्यसमितिको सहसचिव पदका लागि अस्मिता पराजुली र राजेन्द्र कार्कीले मनोनयन दर्ता गराएका छन् । यी बाहेक अन्य सबै पदमा एकल उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा (खुल्ला तर्फ) प्रस्ताव सुवेदी, महिला उपाध्यक्षमा सिन्धु ढकाल सचिवमा राजु चौधरी र कोषाध्यक्षमा राजु सापकोटा चयन भएका छन् ।दिउसो २ वजेसम्म सहमतिको प्रयास गरिने र नभए मतदान मार्फत नेतृत्व चयन गरिने कार्यक्रम छ । युनियन चितवनका झण्डै २२० सदस्यले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।



उज्यालो खबर




