गैँडाकोट । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ नवलपुरको गैँडाकोटमा आजदेखि गैँडाकोट दोस्रो मेयरकप नगरस्तरीय फुटवल प्रतियोगिता हुदैछ। गैँडाकोट खेलकुद समितिको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता चैत्र २५ गतेसम्म चल्ने आयोजक गैँडाकोट खेलकुुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
गैँडाकोट क्षेत्रीय रंगशालाको खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विहान ८ वजे गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटन खेलमा आज गैँडाकोट नगरपालिका वडा नं. ४ र वडा नं. ६ विच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आज नै दोस्रो खेलमा गैँडाकोट ११ र गैँडाकोट १३ विच प्रतिष्पर्धा हुनेछ ।
नगरस्तरीय मेयरकप फुुटवलमा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका प्रतियोगीहरु सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने समूहलाई ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी खेल अवधिभर उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।गैँडाकोट नगरपालिकाको प्रर्वद्धनमा हुन लागेको प्रतियोगिताको नगर युवा सञ्जाल गैँडाकोटले समन्वय गरेको छ भने सहयोगी संस्थामा गैँडाकोट ४,५ र ८ युवाक्लव रहेको छ ।


उज्यालो खबर