बुटवल । नेकपा एमालेका नेता विष्णु पौडेलले नेपालमा राजश्व सङ्कलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् ।शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको राजश्वले साधारण खर्च समेत धान्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘यस्तो निराशाजनक अवस्था केही वर्ष यता थिएन । २०२४/२५ सालमा अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व सङ्कलन भएको इतिहास छ, सोही घटना चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ पौडेलले मुलुकको आर्थिक अवस्था जटिल र सङ्कटपूर्ण रहेको बताउँदै अब सबै मिलेर समाधान खोज्नुपर्ने बताए ।
उनले मुलुकको सङ्कटपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गरेर जिम्मेवार दलहरू सत्ता पक्ष र प्रतिपक्षको हिसाबले नभई सङ्कट समाधानका लागि सबै दल साझा धारणा बनाएर लाग्नुपर्ने बताए ।
पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिटो सञ्चालनका लागि सरकारले कार्यविधि स्वीकृत गर्नुपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।



उज्यालो खबर




