
चितवन । नेपाल निर्माण व्यवसायी महासंघले कालिका कन्ट्रक्सनलाई विदेशमा निर्माण व्यवसाय गर्ने उत्कृष्ट नेपाली कम्पनी अवार्ड तथा शुरु सम्झौताको निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने उत्कृष्ट “क” वर्ग कम्पनी अवार्ड गरी दुईवटा अवार्ड प्रदान गरेको छ ।
राष्ट्रिय निर्माण दिवस–२०७९ को अवसरमा एफक्यान एक्सिलेन्स अवार्डअन्तर्गत कालिका कन्ट्रक्सनलाई दुईवटा अवार्ड प्रदान गरेको हो । कालिका कन्ट्रक्सनका कार्यकारी निर्देशक एवम् निर्माण व्यवसायी महासंघका सल्लाहकार निकोलस पाण्डेले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठमार्फत अवार्ड ग्रहण गरेका हुन् ।
विदेशमा निर्माण व्यवसाय गर्ने उत्कृष्ट नेपाली कम्पनी तथा निर्माण सम्पन्न गर्ने सम्झौताअगावै काम सम्पन्न गरेको भन्दै महासंघले कालिकालाई दुईवटा अवार्ड प्रदान गरेको हो । कालिका कन्ट्रक्सनलाई ‘ए’ लेभलको निर्माण कम्पनी मानिन्छ । एफक्यान ग्लोरी अवार्ड भने ए लेभलकै निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरिएको छ । शेर्पा महासंघका पूर्वअध्यक्ष एवम् मानर्थ सदस्यसमेत हुन् ।
यस्तै ए लेभलकै भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालि भक्तपुरले गोल्ड, सामानान्तर निर्माण सेवाले सिल्भर र कन्काई इन्टरनेशनल बिल्डर्स् प्रालिले ब्रोन्ज अवार्ड जितेका छन् ।