
चितवन – माघ १२ गतेदेखि नारायणी नदीकिनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटीहोम ज्ञानमहायज्ञ सोमबार समापन हुँदैछ । एक महिना तीन दिन लामो महायज्ञ विधिवत्रुपमा समापन हुन लागेको हो । फागुन १२ गते सवा करोड दीप प्रज्वलन सम्पन्न भइसकेको छ ।
तर्पण र मार्जनको कार्य गर्दै सोमबार महायज्ञ सम्पन्न गर्न लागिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजले जानकारी दिए । महायज्ञको समापन गर्ने कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सहभागी हुने भएकी छन् ।
आइतबार महायज्ञमा योगी खेचरनाथ, वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमकी संरक्षक सल्याननाथ तिमिला माता, इन्दिरा सन्यास आश्रम देवघाटका उपाध्यक्ष गोकुलानन्द सरस्वती र सदस्य चिनमयानन्द सरस्वतीको उपस्थिति रहेको थियो ।श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ भएको हो ।