
चितवन । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले लघुवित्तीय संस्थाहरु खारेज गर्दै सबैको ऋण मिनाहा गर्न माग गरेका छन् ।चितवनसहित विभिन्न जिल्लाबाट आएका लघुवित्तीय संस्थाबाट पीडा पाएका नागरिकहरुले आज नारायणगढको पुलचोकमा प्रदर्शन गर्दै सो माग गरेका हुन् ।
प्रदर्शनमा संघर्ष समितिले पाँच बुँदे माग राख्दै लघुवित्तीय संस्थाले नाफा मात्र हेर्ने गरेको भन्दै कम्पनी ऐनमा दर्ता गरी परिचालन गर्ने नीति बनाउन त्रुटिपूर्ण भएको बताएका हुन् । प्रदर्शनमा मानिस किस्ता असुली गर्दा दुई दिन पनि पर्खन नसकेर सदस्यहरुको सामाजिक बदनाम गरेको भन्दै आत्महत्या गर्न प्रेरित गरिएको लघुवित्तीय संस्थालाई आरोप लगाएका छन् ।
मनिराम ज्ञवालीको अध्यक्षतामा गठन भएको संघर्ष समितिले बचतकर्ता सदस्यहरुको बचत हिसाबको हिसाबकिताब नदिएको भन्दै पासबुकहरु शाखा कार्यालयमा राखेर हिसाबकिताब गोलमाल गरिएको आरोप लगाएको छ । संघर्ष समितिले भनेको छ, ‘अनुत्पादनक क्षेत्रमा लगानी गरेकोले सदस्यहरुलाई ऋणको भारी बोकाएको छ । किस्ता असुलीका नाममा सदस्यहरुको घरमा ताला लगाउनु, विस्थापित हुन बाध्य पारेको छ ।’ संघर्ष समितिले गरिब किसानहरुलाई निःशुल्क ऋणको माग गर्दै देशमा समाजवादी अर्थतन्त्रको विकास गर्न माग पनि गरेको छ ।