
गैँडाकाेट – क्रिजन गुरुङको अलराउण्ड प्रदर्शनमा गैडाकोटमा जारी दोश्रो मेयर कप क्रिकेट प्रतियोगितामा चितवनले रोमाञ्चक जित हात पारेको छ । स्याङ्जाविरुद्ध रोमाञ्चक १ रनको जित निकाल्ने क्रममा क्रिजनले ब्याटमार्फत ३७ रन बनाउदै बलिङमा ४ विकेट लिदा चितवनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको स्याङ्जा निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ४५ रनमा रोकिन पुग्यो । स्याङ्जाको सुरुआत उत्कृष्ट रहेपनि मध्यक्रममा साझेदारी बनाउन नसक्दा खेलको नतिजा चितवनलाई सुम्पिन पुगेको हो ।
स्याङ्जाका लागि ओपनरद्वय इश्वर क्षेत्री र सौजन्य रेग्मीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । ८ औं ओभरको तेश्रो बलमा इश्वर क्षेत्री व्यक्तिगत ४२ रन बनाउदा रन आउट भएपछि स्याङ्जाको पारी धर्मराएको थियो । सौजन्य रेग्मीले २४ बनाउदा सन्दिप क्षेत्रीले ३७ रन जोडे ।बलिङमा चितवनका क्रिजन गुरुङले ४, दिपेश श्रेष्ठले २ तथा गौतम केसी र बाबुराम भट्टराईले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनको सुरुआत भने गतिलो हुन सकेन । चितवनको स्कोर ४ रन रहँदा उसले आफ्नो दुबै ओपनर गुमाएको थियो । मध्यक्रममा हरिबहादुर चौहान र प्रतिक श्रेष्ठले चितवनको पारी उकास्ने प्रयास गरे । प्रतिक श्रेष्ठले १५ रन बनाए भने व्यक्तिगत २६ रन बनाउदा हरिबहादुर चौहान लंग अफमा क्याच आउट भएपछि ५२ रनमा ५ विकेट गुमाउदै चितवनको टोली पुरै दबाबमा आएको थियो ।
तल्लोक्रममा ब्याटिङ गर्न आएका कप्तान दिपेश श्रेष्ठले ३३ र क्रिजन गुरुङले ३७ रन जोडेपछि सम्मानजनक विजय लक्ष्य दिएको थियो ।
बलिङमा स्याङ्जाका अंकित न्यौपानेले ३, सन्दिप क्षेत्री र विपिनराज न्यौपानेले २र२ तथा क्रिस कार्की र प्रदिप पाण्डेले १÷१ विकेट लिए ।
ब्याटमाार्फत ३७ रन बनाउदै बलिङमा ४ विकेट लिएका क्रिजन खेल प्लेयर अफ द म्याच चुनिए । यस्तै आज नै भएको पहिलो खेलमा बाग्लुङलाई ७ विकेटले हराउदै तनहुँले पनि सेमिफाइनलको यात्रा तय गरेको छ ।
नवजागरण ग्रामिण विकास केन्द्रको आयोजनामा माघ २६ देखि फागुन १ गतेसम्म प्रतियोगिता संचालन भइरहेको छ । जिल्ला क्रिकेट संघ नवलपुर र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोग र गैडाकोट नगरपालिका प्रवद्र्धक रुपमा रहेको प्रतियोगितामा कुल ८ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले २ लाख नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।