
गैँडाकोट। नवलपरासी (पूर्व)को गैँडाकोटमा माघ २६गतेदेखि हुने राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा माघ २६ गतेदेखि फागुन १ गतेसम्म आयोजना गर्न लागिएको ‘दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिताको तयारी सकिएको आयोजकले जनाएको हो ।
खेलमैदान सम्याउने, पीचलाई व्यवस्थित गर्ने,अस्थायी सौचालय निर्माण गर्ने, पीउने पानीको धारा जडान गर्ने, टेन्ट तथा उद्घाटनको लागि मञ्च ब्यवस्थापन सहितको तयारी सकिएको आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो ।
अध्यक्ष सापकोटाका अनुसार टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि बाहिरि जिल्लाका खेलाडिहरु भोलि साँझसम्म गैँडाकोट आउने छन । प्रतियोगितामा सहभागि हुने सबै खेलाडिहरुको खाना तथा आवासको व्यवस्थापन गैँडाकोटका विभिन्न होटलहरुका गरिएको छ ।
गण्डकी प्रदेशका ६ जिल्ला तथा नवलपरासी पश्चिम र चितवन सहित विभिन्न आठ जिल्लाबाट खेलाडीहरु ‘दोस्रो गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगितामा सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेल नवलपुर र पर्वत विच हुनेछ ।प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख ५० हजार नगद सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै अन्य विभिन्न विधा म्यान अफ द सिरिजलाई १० हजार,इमर्जिङ प्लेयरलाई ७ हजार,बेस्ट ब्याट्स म्यान,बेस्ट बलर,बेस्ट किपर,बेस्ट फिल्डरलाई ५÷५ हजार र म्यान अफ द म्याचलाई १ हजार पाँच सय नगद सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयाेजक विष्णुप्रसाद कंडेलले बताउनुभयो ।
नव जागरण खेलकुद मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक इनाक्षी इन्टरटेनमेन्ट प्रा लि र सापकाेटा ट्रान्सपाेर्ट अष्ट्रेलिया रहेकाे छ भने प्रयाेजकमा एम्स एब्रोड एजुकेशन र जयश्री फुड्स प्रालि रहेका छन् । त्यसैगरी कर्मा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर,कालिका रिफाइनरी प्रालि, शुभलक्ष्मी सेनेटरी उद्याोग , स्मार्ट टेक एग्रो एण्ड बायोइनर्जी र नारायणी सामुदायिक वन उपभोक्ता समूहले सहप्रायोजकको रुपमा सहयोग गरेका छन् ।