चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । सेवा शुभारम्भको अवसरमा शनिबार निःशुल्क शिविर आयोजना गरिएको हो ।अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी चिकित्सा विधामा पछिल्लो समय अभ्यासमा आएको दुखाई व्यवस्थापन (पेन म्यानेजमेन्ट) सेवा शुरु गरेको जनाएको छ । यो सेवा नेपालका मेडिकल कलेजहरुमा पहिलो पटक आफूहरुले शुरु गरेको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले बताउनुभयो ।

दुखाईको उपचार टिमवर्क भएको भन्दै उहाँले पेन फिजिसियनसँगै यससँग सम्बन्धित अन्य सुविधाहरु पनि अस्पतालमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको प्रतिष्ठित संस्थाबाट फेलोसिप गर्नुभएका इन्टरभेन्सनल पेन एण्ड स्पाईन स्पेशलिष्ट डा. रोहित बाल्यानले दुखाई सम्बन्धी उपचार सेवा दिनुहुनेछ ।

सो अवसरमा डा। बाल्यानले दुखाइ व्यवस्थापन चिकित्साशास्त्र अन्तर्गतका विभिन्न विधामध्ये एक विशिष्ठ विधा भएको बताउँदै भन्नुभयो “यसले दुखाइ निदान गर्छ र दीर्घकालीन दुखाइ (क्रोनिक पेन) सँग बाँचिरहेकाहरूको लागि गुणस्तरीय जीवनयापन गर्न सहज बनाउँछ ।

दुखाइका कारण स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य र दैनिक गतिविधिमा अवरोध हुने भन्दै डा. बाल्यानले भन्नुभयो “दुखाइ हँदा बिरामीहरु उदासिन हुने, चिन्ता र चिढचिडाहट लगायतका समस्या थपिन्छन् ।” लामो समयदेखि दुखाइ भएका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुन सक्ने भन्दै डा. बाल्याणनले भन्नुभयो “दुखाईको समयमा उपचार गरिएन भने जटिल मानसिक रोग थपिन सक्छ ।”

प्रविधिका रुपमा मेरुदन्डको खाली भागबाट स्नायु तन्तुलाई लठ्याउने सुई (स्पाइन इन्जेक्सन) , स्नायु तन्तुको शिथिलता (नर्व ब्लकहरू) , जोर्नीहरुमा लगाइने सुई, स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, लेजर थेरापी, बोटुलिनम विषाक्तको अनुप्रयोग र रेडियोफ्रिक्वेंसी मार्फत नशालाई गरिने शिथिलता (डिनर्भेसन) जस्ता विभिन्न प्रकारका विधिहरूबाट दुखाईको उपचार गरिने डा. बाल्यान बताउनुहुन्छ । यी सबै प्रविधि चितवन मेडिकल कलेजमा रहेको सो अवसरमा जानकारी गराईयो ।

यसैबीच अस्पतालले माघ २१ र २८ गते, फागुन ६ र १३ गते शनिबार कलेज परिसरमा दुखाई सम्बन्धी निःशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसमम यो सेवा लिन पाईने भएको हो । शिविरमा टिकट निःशुल्क गरिएको छ भने अन्य उपचार सेवामा ५० प्रतिशत छुट दिने अस्पतालका निर्देशक प्रा।डा।लम्सालले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया