
चितवन–प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक हरुको व्यापक सरुवा गरेको छ । चितवनका दुई एसपी र डिएसपीको पनि सरुवा भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीको सरूवा भएको छ।
जिल्ला प्रहरी कार्यालयको प्रमुख अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ काठमाडौँ सरूवा भएका छन् । अधिकारीको ठाउँमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा कार्यरत रामेश्वर कार्की आउने भएका छन् ।इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ सरूवा भएका हुन्। उनको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा कार्यरत डिएसपी अनिल कुमार खड्का आउने भएका छन् ।
अपराध अनुसन्धान विद्यालय महाराजगंज काठमाडौँ कार्यरत एसपी रवि कुमार पौडेल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनमा सरुवा भएको छ । यहाँ कार्यरत एसपी टेकुनन्द ईवा लिम्बुको जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा गरिएको छ ।नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत एसपी प्रकाश रानाभाटको नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी विजयराज पण्डितको दरबन्दी चितवनमै तोकिएको छ । जिप्रका चितवनका अर्का डिएसपी नरहरी अधिकारीको सरुवा गरेर उनको ठाउँमा विजयराज पण्डितलाई राखिएको हो ।