चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती र कालिका नगरपालिकाबाट  लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । कालिका र राप्तीबाट दुईरदुई जनालाई पक्राउ गरिएको हो । राप्तीमा पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका–१ बस्ने २८ वर्षीय महेश कुमार यादव र सोहि ठाउँ बस्ने २९ वर्षीय पप्पु प्रसाद यादव रहेका छन् ।

त्यस्तै, कालिकामा पक्राउ पर्नेमा कालिका–४ बस्ने २४ वर्षीय निर्मल तिमिल्सिना र कालिका–३ बस्ने २३ वर्षीय आयुष खनाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । माघ ६ गते करिब ३ बजेको समयमा राप्ती–६ मा शंकास्पद अवस्थामा बसेका छिपरमाईका दुई व्यक्तिले बोकेको बोरा र झोला चेकजाँच गर्दा लागुऔषध डाईजेपाम १०६ एम्पुल, फेनारगन ११२ एम्पुल र नुरफिन ११२ एम्पुल बरामद गरिएको पण्डितले बताए ।

उनीहरुमाथि जिल्ला अदालत चितवनबाट म्याद अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको छ । त्यस्तै, माघ ७ गते कालिका–१ मा लुकाईछिपाई राखेको प्रतिबन्धित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल चार हजार ६८० ट्याब्लेट, ट्रमा हाइड्रोक्लोराइड आईपी ५० एमजी तीन हजार ट्याबलेट र अनार्गन–२५ एक हजार ९४५ ट्याब्लेट फेला परेको उनले जानकारी दिए ।उनीहरुलाई कारबाहीको लागि औषधि व्यवस्था विभागमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया