चितवन–यातायात व्यवस्था कार्यालय चितवनले माघ महिनामै सवारी चालक अनुमति पत्र दिनेगरी काम अघि बढाएको छ। सद्गुरु मोटर ड्राइभिङले हालेको मुद्धामा सर्वोच्च अदालतले उत्प्रेषणको आदेश जारी नगरेपछि यातायात कार्यालयले ट्रायल सेन्टरसँग सम्झौता गरीसकेको छ।

शुन्य रुपैयाँमै ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरसँग यातायात कार्यालयले सम्झौता गरेको हो।
एक पैसा शुल्क लिने प्रस्ताव पेश गरेको सद्गुरु छनौटमा नपरेपछि उसले सर्वोच्चमा यातायात कार्यालय र महालक्ष्मी विरुद्ध रिट हालेको हो।

सर्वोच्चले उत्प्रेषणको आदेश जारी नगरेपनि मुद्धा अदालतमा विचाराधिन अवस्थामा नै छ। सर्वोच्चले के कसो भएको हो भनि सोधेको प्रश्नको जवाफ यातायात कार्यालयले गएको शुक्रबार नै पेश गरिसकेको यातायात कार्यालय चितवनका प्रमुख कालीबहादुर भुजेलले जानकारी दिए।

यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वोच्चमा रिट हालेको थियो।

अहिले यातायात व्यवस्था कार्यालयको नयाँ भवमा लाइसेन्स र नविकरण फाँटको लागि अस्थायी  संरचना बन्दै छ। उक्त टहरामा ६ वटा कोठा बनाउने तयारी भइरहेको भुजेलले जानकारी दिए। उक्त संरचना माघको अन्तिम सातामा निर्माण सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ। त्यस लगत्तै लाइसेन्सको सेवा सुरु हुने उनले बताए।

तपाईको प्रतिक्रिया