गैँडाकोट । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्ने भएकाे छ ।  आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशाला लगायतका विविध भौतिक संरचनाहरुको निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म कोटीहोम आश्रमको प्रागणमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलको प्रमुखवाचकत्वमा महायज्ञ हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कण्डेल (राजु) ले जानकारी दिनुभयो ।

वैदिक सनातन धर्म संस्कार, संस्कृति र सभ्यताका अनुसन्धाता ब्रह्मलीन योगी नरहरिनाथले विश्वशान्ति हेतु वि.सं. २०४५ सालमा कोटीहोम महायज्ञ लगाएको यस पवित्र स्थलमा महायज्ञ गर्न लागिएको आश्रमका पीठाधीश योगी खेचरनाथले बताउनुभयो । उहाँले महोत्सवमा ५ करोडसम्म आम्दानी र ८० लाख खर्चको अनुमान गरिएको बताउनुभयो ।

कोटीहोम आश्रम स्थल, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, पर्यटकीय, ऐतिहासिक एवं संस्कृत शिक्षामैत्री सामाजिक सम्भावनाले भरिपूर्ण रहेको बताउँदै आयोजक समितिका महासचिव नरहरि सापकोटाले त्यसका लागि सबै जुट्नुपर्ने बताउनुभयो ।सप्ताह ज्ञानमयज्ञको महिमा र आश्रमको सङ्कल्प पूरा गर्न सबैलाई सहयोग गर्न प्रचार–प्रसार उपसमितिका संयोजक देविदत्त कण्डेलले आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा उपस्थित पूर्व प्रतिनिधि सभा सदस्य सत्य नारायण खनालले २०५५ सालमा आफु सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष हुँदा धार्मिक वन बनाउन सफल भएको स्मरण गराउनुभएको थियो ।गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसिले विगत सम्झदै कोटीहोमले गुरुकुल सञ्चालन लगायतका कार्यमा फड्को मारेको बताउनुभयो ।

करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको धार्मिक वन क्षेत्रमा कोटिहोम रहेको छ । यहाँ रहेको श्री योगि नरहरिनाथ आध्यात्म विज्ञान गितापाठशाला (योगी नरहरिनाथ संस्कृत विद्यापिठम्) मा समावेशी २४ जना बटुक आश्रीत छन् । आवासीय रूपमा उनिहरुलाई संस्कृत शिक्षा र आधुनिक शिक्षाको समन्वयात्मक शिक्षा निःशुल्क रूपमा प्रदान गरिएको छ ।

कक्षा ६ र ७ मा अध्ययनरत उनिहरुको शिक्षादिक्षा समेत समाजबाट उठेक सिदा वा उत्सवमा आउने भोजनबाट भरणपोषण चल्दै आएको छ । यहाँ ६ जना शिल्पकारसहित मगर, चेपाङ, तामाङ, माझि, ठकुरी, क्षेत्री समुदायका रहेका छन् । श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले गुरुकुलीय पद्धतिद्वारा व्यावहारिक एवं जीवनोपयोगी संस्कृत शिक्षाको पठन–पाठन गर्ने गराउने व्यवस्था मिलाउँदै आएको छ ।

यहाँ धेरै अगाडिदेखि सञ्चालनमा रहदै आएको दुर्गाभगवती, गणेश, शिव आदि आराध्य देव–देवीहरूको पूजा–अर्चना हुँदै आएको छ । यहाँ करिब डेढ अर्ब लागतको गुरु योजना निर्माण गरिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार समक्ष आश्रमले सहयोगका लागि योजना समेत पेश गरेको छ ।

तपाईको प्रतिक्रिया