काठमाडौं । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ ।प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया