चितवन ।  कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ सङ्कलन सुरु गरेको छ । नगरपालिकाले आजसम्म तीन सय ट्रिपर नदीजन्य पदार्थ सङ्कलन गरेको हो । नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नं ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ ।

दैनिक रुपमा ट्रिपर र जेसिबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो । उहाँका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ सङ्कलन थालिएको हो । उहाँले भन्नुभयो “नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौँ ।”

अझै दुई सय ट्रिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ । सबै सामग्री सङ्कलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ । त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया