
गोविन्द घिमिरे
गैँडाकोट । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोटको अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थाको १० औँ अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने प्रकृयामा सहभागी हुँदै पाँचजनाले अध्यक्षमा दावी प्रस्तुत गरेका हुन् । निर्वतमान अध्यक्ष मोतीचन्द्र चालिसे, पूर्व अध्यक्ष लालमणी पौडेल सहित जगन्नाथ पौडेल, शकुन्तला तिवारी र टिकाराम काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा तीनजनाले नाम दर्ता गराएका छन्।भगवान लम्साल, ललितचन्द्र सापकोटा र सूूर्यप्रसाद चालिसेले उपाध्यक्ष पदका लागि दावी गरेका छन् । त्यसैगरी सचिवमा शालिकराम सापकोटा र गजेन्द्र लम्सालको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा पार्वती लम्साल र चिनिमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक शोभाकान्त काफ्लेले उज्यालोलाई जानकारी दिए । संस्थाको सहसचिव पदका लागि कलाधर कंडेल र एकराज सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
कार्यसमितिका ८ सदस्यको लागि २७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अनुगमन तथा मूल्याकंन समितिको संयोजकमा ध्रुवप्रसाद अधिकारी र गुरुप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् भने लेखा समिति संयोजकको लागि विश्वराज लम्साल र तारानाथ लामिछानले उम्मेदवारी दिएका छन् । भोलि दिउसो २ वजेसम्म दावी विरोधको समय तोकिएको छ ।
नयाँ कार्यसमितिका लागि धेरैजनाले उम्मेदवारी दिएको भएपनि सहमतिका आधारमा नेतृत्व छनौट गर्ने पहल भैरहेको बुझिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) राष्टिय स्वतन्त्र पार्टिका विचमा कसले कुन पद लिएर जाने भन्नेमा छलफल चलिरेहको सूचना उज्यालो खबरले प्राप्त गरेको छ । दलहरुका विचमा सहमति नभए आगामी बुधवार (माघ ४ गते) जलुके खानेपानीका १९४७ जना उपभोक्तहरुले मतदान गरि नेतृत्व चयन गर्ने कार्यक्रम छ ।