काठमाडौं ।  नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ। पार्टी एकता लगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यालय तीनकुनेमा आज बिहान ११ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुनेछ। पार्टी एकता तथा संवाद गर्न नेसपाले वार्ता समिति पनि गठन गर्ने तयारी गरेको छ।

बैठकमा पार्टीको संगठन सुदृढीकरण, माओवादीसँग पार्टी एकता, चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच पनि पार्टी एकता प्रक्रियाका विषयमा छलफल भएको थियो। नेसपाले गत मंसिर ४ गतेको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेको थियो। माओवादी केन्द्रले पनि शनिबार नै वामपन्थी दल र समूहबीच एकताका लागि कार्यदल गठन गरेको छ ।

२०७२ सालमा नेकपा माओवादी त्यागेर डा। भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए। उनले २०७६ साल वैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेका थिए। एकतापछि जनता समाजवादी पार्टी, नेपाल बनेको थियो । २०७९ असारमा जसपा छाडेर भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरेका थिए।

तपाईको प्रतिक्रिया