चितवन–जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।

कर्मचारीहरूलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गर्न लागिएको हो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरिएको छ ।

अहिले कार्यालयमा भीड बढी हुने गरेको उहाँले बताउनुभयो । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेस्क राखिनेछ । यहाँबाट आवश्यक कागजपत्र पूरा भए/नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने उहाँले बताउनुभयो । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइनेछ । यसबाट कार्यालयमा अनावश्यक भीड नियन्त्रण हुने उहाँको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३०, राहदानीमा प्रतिघण्टा २० र नागरिकता एवं प्रतिलिपि सेवाग्राहीको कागज पत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिन लागिएको हो । सेवा लिन आएका सेवाग्राहीहरूलाई तोकिएको समयमा सेवा दिइनेछ ।

अहिले कार्यालयबाट दैनिकरूपमा राष्ट्रिय परिचयपत्र एक सय ९०, नागरिकता एक सय ५० र राहदानी एक सय ३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० र प्रतिलिपि लिने ७० जना हुने गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया