×

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन भनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन शाखाका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेले गृह मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र।म। निवास) , बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ ।’

त्यस्ता सवारी चालकहरुको नामावली नै गृहमन्त्रालयमा पठाइएको छ । नामावलीमा १३ जना प्रहरी जवान र १४ जना प्रहरी हबल्दार छन् । ४ जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी वरिष्ठ हबल्दार र एक जना प्रहरी सहायक हबल्दार छन् ।

तपाईको प्रतिक्रिया