चितवन–फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न अधिवेशनबाट संस्थापन पक्षका यमप्रसाद घिमिरेलाई पछि पार्दै संस्थापन इतरका घिमिरे निर्वाचित भएका हुन् । शंकरप्रसाद घिमिरे ४८९ मतसहित विजयी हुँदा यमप्रसाद घिमिरेले जम्मा २२२ मतमात्र प्राप्त गर्न सफल भए।
वरिष्ठ उपाध्यक्षमा भने संस्थापन समूहबाटै रामप्रसाद पौडेल विजयी भएका छन्। उनी ४५५ मतसहित विजयी हुँदा शंकर समूहका पाण्डव ढकालले जम्मा २३९ मत पाए। उपाध्यक्षमा शंकर समूहकै मीना बस्याल तिवारी ३६६ मतसहित निर्वाचित भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी डिलाराम खरेलले जम्मा ३२२ मत पाए।
यस्तै सचिवमा टंकप्रसाद सापकोटा विजयी भएका छन्। सापकोटा ३७५ मतसहित विजयी हुँदा यमप्रसाद समूहका विवेक कँडेलले ३३३ मत पाएका थिए। कोषाध्यक्ष पदमा भने रमेशप्रसाद गुप्ता यसअघि नै निर्विरोध भइसकेका थिए। दुवै समूहले समर्थन गरेपछि गुप्ताले चुनाव लड्न परेन।
पदाधिकारीमा विजयी भएका वरिष्ठ उपाध्यक्षबाहेक सबै शंकर समूहका हुन्। १९ सदस्यीय कार्यसमितिमा अधिकांश शंकर समूहका निर्वाचित भएका छन्। कूल ८४७ मतदाता रहेकामा ७१७ मत खसेको व्यवसायी रमेश गैरेले जानकारी दिए। दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन भएको हो।





















उज्यालो खबर

















