नवलपुर। गैंडाकोट नगरपालिका–८ करङघारी स्थित विजय आधारभूत विद्यालयका तीन शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।

आरोपित प्रध्यानाध्यापक कुष्ण सापकोटा, शिक्षक मदन भट्टराई, कुमार सापकोटालाई कडा कारबाहीको माग गर्दै विद्यार्थी तथा अभिभावकले इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रदर्शन गरेका हुन् ।

तीन जना आरोपित अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रमुख प्रशान्त श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । पीडितको परिवारबाट जाहेरी आउन भने बाँकी रहेको श्रेष्ठले बताए । पीडित पक्षले भने स्थानीय जनप्रतिनिधिको दबाबमा घटनाको उजुरी अगाडि नबढ्ने आशंका व्यक्त गरेका छन् ।

शिक्षकले मादक पदार्थ सेवन गरी विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको विद्यार्थीहरुकोे आरोप छ । ७ कक्षामा अध्ययनरत १३ वर्षीय छात्राले भनिन्, ‘पूर्व चितवनको कंकाली डाँडामा वनभोज गएका थियौं । ५ कक्षा देखि ८ कक्षासम्मका थियौं । पिकनिक स्पोर्ट पुगे देखि सरहरुले रक्सी खानु भएको थियो । दिउँसो हामी खेलिरहेको ठाउँमा आएर कम्मरमा हात राख्ने, कस्सेर समाउने गर्नुभएको थियो । बसमा घर आउने बेलामा झन् नराम्रोसँग छुने, समाउने गर्न थाले । ’

पीडित एक बालिकाले सम्वेदनशिल अंगहरुमा शिक्षकहरुले छोएको बताइन् । भक्कानिँदै भनिन्, ‘सरले प्राइभेट अंगहरुमा हात लग्नुभयो । छाती दबाउनुभयो । म रोए । केटा साथीहरुलाई डराउदै सुनाए । त्यसपछि बसमा सबै मिलेर हामीलाई सुरक्षित पार्ने कोसिस गरे । आफूहरुलाई सुरक्षित राख्दा छात्र विद्यार्थीहरुले कुटाई खानु परेको उनले बताइन् ।

विद्यार्थी मात्र नभएर शिक्षिका माथि पनि शिक्षकले यौन दुव्र्यवहार गरेको प्रत्यक्षदर्शी छात्रको भनाइ छ । हाम्रो साथीमात्र होइन म्यामहरु पनि पर्नुभएको छ । यिनीहरुलाई बसमा भन्दा स्कुलमै गएर तह लगाउनु पर्छ भनेपछि हामी चुप लागेका हौं । बसमा भएको दुव्र्यवहारको भिडियो रेकर्ड समेत विद्यार्थीले गरेका छन् ।

 

तपाईको प्रतिक्रिया