काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन्।

आज बिहान ८ बजे खुमलटारस्थित निवासमा पुगेर सिंहले प्रचण्डसँग कुराकानी गरेका हुन्।सिंहले प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल ९८(सांसद)  रहेकोले सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउन सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका छन्।

जवाफमा प्रचण्डले अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकोले नयाँ सरकार माओवादीको नेतृत्वमा बन्नुपर्ने बताएका छन्।‘सभापति देउवाकै नेतृत्वमा फेरि सरकार बनाऔं, पावर सेयरिङबारे छलफल गरी समझदारी गरौंला,’ सिंहको भनाइ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो।

जवाफमा प्रचण्डले यसपालि आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेसले सहयोग गर्नुपर्ने बताए। ‘यसपालि मेरो नेतृत्वमा जाऔं, कांग्रेस पनि सकारात्मक होस्,’ उनले भनेका थिए।प्रचण्डसँग कुराकानी गरेलगत्तै सिंह बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका छन्। प्रचण्डसँग भएका कुराकानीबारे सिंहले देउवालाई ब्रिफिङ गरेको उनको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया