चितवन । हिसान चितवनले अरोमा कलेज प्रकरणमा आरोपित शिक्षकलाई यौन दुर्व्यवहारको मुद्दाको अन्तिम निरुपण नहुदासम्म हिसान अन्तर्गतका कुनैपनि शिक्षण संस्थामा अध्यापन गर्न नदिने निर्णय गरेको छ ।

अरोमा कलेजमा कम्प्युटर प्रशिक्षकका रुपमा कार्यरत रामकृष्ण सुवेदी विरुद्ध छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै मंगलबार कलेजमा विद्यार्थीहरु आन्दोलन गरेका थिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)  चितवनका सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । शिक्षण संस्थाहरुलाई मानव मर्यादा विपरीतका कुनैपनि कार्य र हिंसाजन्य गतिविधिमुक्त बनाउन लाग्ने जनाइएको छ ।

हिंसा प्रभावितलाई न्यायिक प्रक्रियामा कुनैपनि व्यवधान नगर्न अपील गरिएको छ । यौन हिंसा भएको भनि उजुरी गर्ने पीडितलाई हिसानले भयमुक्त वातावरणमा अध्ययन-अध्यापन गराउन आग्रह गरेको छ । आरोपित शिक्षकलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवाबाट निलम्बन गर्न सुझाएको छ ।

यस्तै कलेजमा तोडफोड नगर्न आग्रह गरेको छ । कलेजको हाताभित्र राखिएका स्कुल बस, प्रशासन भवनमा गरिएको तोडफोड तथा भौतिक क्षतिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।न्याय निरुपणका अन्य उचित विकल्प र मार्ग छँदाछँदै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरिनु हितकर नहुने भन्दै घटनाको अनुसन्धानमा सहजीकरण आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया