चितवन – चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा भोज खाएकाहरु सामुहिक रुपमा बिरामी परेपछि अनुगमन टोलीले होटलको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर, स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाका प्रतिनिधिसहितको टोलीले मंगलबार होटलको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु होटलमा भण्डारण गरेर राखेको भेटिएको सहायक प्रजिअ शर्माले बताए । होटलको भान्सालाई प्रदुषणमुक्त बनाउनका लागि स्वचालित ढोका नभएको, मासु जन्य पदार्थ राख्नका लागि डि फ्रिजको तामक्रम न्युनतम माइनस १८ हुनुपर्नेमा माइनस ३ मात्रै पाईएको पनि उनले जानकारी दिए ।

अनुगमनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र त्यसपछि थप प्रक्रिया अघि बढाइने उनले बताए । होटल सञ्चालकलाई बुधवार प्रशासन कार्यालयमा उपस्थित हुन भएनिएको सहायक प्रजिअ शर्माले बताए ।रिसोर्टमा विवाहको भोज खाएका तीन सय भन्दा बढी एकैसाथ बिरामी भएका छन् । मंसिर २३ गते रिसोर्टमा भोज खाएका उनीहरु एकैसाथ बिरामी भएका हुन् ।

नवलपुरको गैंडाकोट नगरपालिका १ का गणेश ढकाल र भरतपुर १० हाकिमचोककी शरिश्मा अधिकारीको सिजिआरमा विवाह भएको थियो । विवाहमा भोज खाएका मध्ये केहीलाई सोही दिनबाट समस्या देखिएको थियो । केहीलाई भोलिपल्टबाट समस्या देखिएको भोजमा सहभागीहरुले बताएका छन् ।

बिरामीहरु मध्ये ३४ जना भरतपुरको नेशनल सिटी अस्पताल भर्ना भएका छन् । सोही अस्पतालका मात्रै १२ जना उक्त दिन वैवाहिक समारोहमा सहभागी भएका थिए । उनीहरु मध्ये १० जनामा समस्या देखिएको र पाँच जना अस्पतालमा भर्ना भएका छन् ।

अन्य केही अन्य अस्पतालहरुमा भर्ना भएका छन् भने केहीले घरमै बसेर औषधि सेवन गरिरहेका छन् । दुलाहा पक्षका धुर्वप्रसाद सापकोटाले आफूलाई कामज्वरो आउने, पाखाला लाग्ने जस्ता समस्या देखिएको बताए ।

दुलाहाका साथि गैंडाकोट १ का सविन लम्सालका अनुसार उक्त दिन करिब पाँच सय जनाले सामुहिक रुपमा विहे भोज खाएका थिए । उनीहरु मध्ये सबै जना बिरामी परेको लम्सालले बताए । दुलाहा र दुलहीलाई पनि पखाला लागेको लम्सालले बताए ।

भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका अस्पतालका डा. मिलन कंडेलले जानकारी दिए । खानामा अखाद्य बस्तु मिसिन जाँदा यस्तो समस्या हुने उनले बताए । उनका अनुसार बिरामीहरुमा प्रेसर बढ्ने समस्या पनि देखिएको छ । उनीहरु सबैको अवस्था अहिलेसम्म स्टेबल रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया