गैँडाकाेट । चितवनको भरतपुरमा  बिहे भोज खाएका २०० बढी बिरामी भएका छन् । नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको दुलहीका दाई विशाल अधिकारीले जानकारी दिए ।

गैडाकोँट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथिभाई जन्ती आएका थिए । दुलही सरिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट विहे भएको थियो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने,पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका सविन लम्सालले बताए ।

भाेज खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएको उनले बताए । ‘भोज खाएको भोलिपल्टबाट ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने समस्या देखियो। अरुलाई पनि उस्तै समस्या देखिएपछि जचाउन अस्पताल पुग्यौं,’ लम्सालले भने, ‘गुणस्तरहीन खाना खुवाएर बिरामी बनाउने होटल सञ्चालकलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।’

होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरु बिरामी परेको जानकारी पाएको बताए।उहाँहरु मध्ये धेरैजना बिरामी पर्नुभएको जानकारी पाएका छौं,’ रिजालले भने, ‘उही खाद्यान्न प्रयोग गरिएको अन्य भोजमा सहभागी हुनेलाई केही नहुने एउटा भोजमा सहभागी हुनेलाईमात्र समस्या आउने के भएको रहेछ छानबिन गरिरहेका छौं।’

तपाईको प्रतिक्रिया