काठमाडौं । चुनावी नतिजाको प्रारम्भिक समीक्षा गर्न बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अब नेपाली कांग्रेस वा नेकपा एमाले मध्ये कोसँग मिलेर सरकारमा जाने भन्ने बिषयले प्राथमिकता पायो । निराशापूर्ण चुनावी नतिजाको समीक्षा भने ओझेलमा पर्यो ।
प्रत्यक्षतर्फ निराशाजनक र समानुपातिकमा पनि खस्कदो अवस्थाबारे बैठकमा सघन छलफल हुने ठानिएकोमा पाका नेताहरुले सत्तामै बढ्ता मोह देखाएपछि युवा पुस्ता आफ्नो भविष्य सम्झेर चिन्तित छन् ।
२१ सदस्यीय माओवादी पदाधिकारीमा अधिकांश पहिलो र दोस्रो पुस्ताका नेता छन् । उनीहरुमध्ये प्रायः सबै सरकारमा जान उत्सुक छन् । युवा पंक्तिका धेरैजसो नेता भने यसपटक सरकार बाहिरै बसेर पार्टी निर्माणमा लाग्नुपर्ने आवाज उठाइरहेका छन् ।
सत्ता गठबन्धनबाट चुनाव लडेको माओवादीले प्रत्यक्षतर्फ जम्मा १८ सिटमा जितेको छ । समानुपातिकमा पनि १४ सिट मात्र पाएको छ । यसरी कुल ३२ सिटमा सिमित बनाएको चुनावी नतिजाले पनि माओवादी पार्टीलाई सरकारमा जान नदिने युवा नेताहरुको तर्क छ ।