चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था देखिएको बताएका छन्।प्रेस चौतारीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा पाण्डेले गठबन्धनले सरकार बनाउने अवस्था देखिए पनि त्यसले देशलाई स्थिरता दिन सक्ने सम्भावना भने नरहेको बताए।
‘राजनीतिक अस्थिरता र आर्थिक संकट एकसाथ देखिनेवाला छ,’ पाण्डेले भने, ‘धेरै दल मिलेर बनेको सरकारले राजनीतिक स्थिरता दिँदैन। अर्कातिर राजश्व घट्दोक्रममा छ, राजनीतिक र आर्थिक संकट एकसाथ जोडिएर देश कठिन अवस्थातिर जान्छ कि भन्ने आशंका छ।’
उनले देश अप्ठेरो दिशामा जाने अवस्था आएमा नेपाली कांग्रेसलाई नेकपा एमाले सघाउन सक्ने बताए। ‘अहिले उहाँहरुले मिलाएर सरकार बनाउनुहोला तर देशलाई अप्ठेरै पर्ने कुनै अवस्था आयो भने एमालेले सरकारमा सहभागी नभएर पनि समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ,’ पाण्डेले भने।
उनले बाम एकता वा बाम गठबन्धनको सम्भावना भने तत्काल नरहेको बताए। ‘माओवादी, एकीकृत समाजवादी कांग्रेससँग मिलेर चुनावमा लडेकाले अहिले त्यतै मिलेर सरकार बनाउने दिशामा छन्। त्यसैले उनीहरुलाई घुमेर आउन समय लाग्छ,’ पाण्डेले भने, ‘तत्काल एकता वा गठबन्धनको सम्भावना म देख्दिनँ।’
पाण्डेले अहिलेको चुनावबाट मुख्य पार्टीको पोजिसन कमजोर बनेको बताए। तै पनि देश चलाउने त ठूला दुई पार्टीले नै हो भन्ने जनमत भने उनीहरुले नै पाएको उनले बताए। ‘मतदाताले ठूला पार्टीलाई शंका, खबरदारी, आलोचना, चुनौती पनि सँगै दिएका छन्। यसलाई राम्ररी विश्लेषण गर्नुपर्ने छ,’ उनले भने, ‘अब नयाँ भन्नेहरु कतिको दिगो हुनेहुन् भन्ने कुरा हो। उनीहरुले अबको ५ वर्षमा आफ्नो चुनौतीलाई कसरी सामना गर्नसक्छन् भन्ने कुराले यसको निर्धारण गर्छ।’