गैँडाकोट । नवलपुरकाे गैंडाकोट नगरपालिका वडा नं १ मौलाकालिका मन्दिरमा आउदाे फागुनभित्र केबलकार सञ्चालनमा आउने भएको छ ।केबलकार निर्माणको काम अहिले अन्तिम चरणमा रहेकोले फागुनबाट सञ्चालनमा ल्याउने योजना निर्माण कम्पनीले बनाएको हो ।आईएमई समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको हो । ‘माघ महिना भित्र परीक्षण गरी सञ्चालनमा ल्याउने तयारीमा छौं,’ परियोजना प्रबन्धक गोकुल साउदले भने ।
करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने लक्ष्य राखिएको केबलकार आयोजनामा ५१ प्रतिशत मुख्य लगानीकर्ता आईएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने बताइएको छ । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा ५ लाख रुपैयाँसम्म लगानी गरेको साउदले बताए । केबलकारले करिब ४०० जनालाई रोजगारी दिने कम्पनीको भनाइ छ।मन्दिर नजिकमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन छ ।
चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेकै अस्ट्रेलियन कम्पनीले यहाँ पनि काम गरिरहेको छ । गैंडाकोट–१ धारापानीमा चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन छन् । त्यहाँ हेलिप्याड निर्माण गरिएको छ । केबलकारको लम्बाइ एक हजार २०० मिटर छ । ६ वटा टावर रहने केबलकारमा १४ वटा डब्बा रहनेछन् । जसमा एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा ८ जना दर्शनार्थी बोकेर हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ । प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने पनि कम्पनीको विश्वास छ ।
केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । पूर्वी नवलपरासीकै दुर्गम पहाडी क्षेत्र मिथुकरमको जग्गा किनेर सरकारलाई दिएको हो । केबलकारले अधिग्रहण गरेको जग्गा नेपालकै कुनै स्थानमा सट्टा भर्ना दिनुपर्ने नियम छ ।
तस्विरमा : निर्माणाधीन माैलाकालिका केबलकार





उज्यालो खबर




