नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका कार्यरत १४ जना कर्मचारीहरुको तहवृद्धि/तहमिलान गरिएको छ । गण्डकी प्रदेशले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ बमोजिम कर्मचारीहरुको तहवृद्धि /तहमिलान गरिएको हो ।

नगरपालिकामा कार्यरत १४ कर्मचारीहरुमध्ये ८ जनाको तहमिलान र ६ जनाको तहवृद्धि गरिएको हो । तहमिलान हुनेमा लिलाधर शर्मा, यशोधा शर्मा (पौडेल), राजु अर्याल ,मञ्जिल थपलिया र निरोज क्षेत्री रहनुभएकाे छ । उहाँहरु सबैको अधिकृत छैटाैँबाट अधिकृत सातौँमा तह मिलान गरिएको हो । त्यसैगरी मणिरत्न सापकोटा, आरती लामिछाने र थपबहादुर थापाको सहायकस्तर चौथोबाट पाँचौमा तह मिलान गरिएको छ ।

यसैगरी सहायक पाँचौबाट अधिकृतस्तर छैटौँमा तहवृद्धि हुनेहरुमा चन्द्रप्रसाद भूसाल, पदमप्रसाद अधिकारी, सृजना पौडेल, सुवाश पौड्याल र शंकर कंडेल रहनुभएकाे छ । नगरपालिकामै कार्यरत कार्यालय सहयोगी कोशलनाथ सापकोटाको कार्यालय सहायक प्रथम (तृतीयस्तर ) मा स्तरवृद्धि गरिएको छ ।

नगरपालिकामा आज आयोजित एक समारोहमा कर्मचारीहरुलाई सम्मान गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले कर्मचारीको तहवृद्धि/ तहमिलानले कर्मचारीमा उत्साह आउने बताउनु भयो । उहाँले आगामी दिनमा सेवाप्रवाहमा समेत यसले कर्मचारीहरुलाई थप जिम्मेबार बनाएको धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशाासकीय अधिकृत मुक्तिराम रिजालले कर्मचारीहरुको बृद्धिविकास हुनुपर्छ भन्नेमा आफु सधै सकरात्मक रहेको भन्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया