चितवन ।  चितवन–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राप्रपाका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले चुनावी घरदैलोमा देखाएको माया सद्भावप्रति मतादाताहरुलाई आभार व्यक्त गर्नुभएको छ । उहाँले उत्साहित जनताकै कारण आँफुले चुनाव जित्नेमा विश्वस्त बनेको बताउनुभएको छ ।

भिडियो सन्देश जारी गर्दै उहाँले पार्टीभन्दा माथि उठेर दिएको सल्लाह सुझाव अनुसरण गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । “मतदान विकास, समृद्धिका लागि, सन्तती र भविष्यका लागि हुनेछ भन्ने सोचेको छु”, उहाँले भन्नुभएको छ, “हामी दृढ छौँ, जनताको पक्षमा छौँ, हामीलाई जनताको साथ छ, हाम्रो तालमेल जनतासँग भएको छ ।” उहाँले मतदान केन्द्रमा डर, धाक, धम्कि बेगर मतदान गर्नुहुने आशा लिएको उल्लेख गर्नुभएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा भरतपुरका १९ वटा वडा र माडी नगरपालिका पर्छ । यहाँ १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् । पाण्डे २०७० मा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ भूमिसुधार तथा व्यवस्था मन्त्री, वन तथा भूसंरक्षण मन्त्री हुनुभएको थियो । २०५६ देखि लगातार एउटै निर्वाचन क्षेत्रमा केन्द्रीत भएर जनताको सेवा र विकास निर्माणको लहर ल्याउन सक्रिय हुनुहुन्छ ।

उहाँले चितवन–३ लाई नमुना विकास मोडेलको निर्वाचन क्षेत्र बनाउने प्रतिवद्धता समेत गर्नुभएको छ । भरतपुर र माडीलाई समृद्ध बनाउने भिजन कार्यान्वयनका लागि जनताले साथ दिने उहाँको विश्वास छ । घरदैलोका क्रममा स्थानीयले जित सुनिश्चत भएको भन्दै बधाई समेत दिएका थिए ।

भूमिहिनलाई लालपुर्जा, बेरोजगार युवालाई रोजगारी, पश्चिम चितवनलाई कृषिको हब बनाउने, नारायणगढ–पुलचोक–गोलाघाटहुदै सौराहासम्म नदी तटबन्धन एवम् तीन लेनको पर्यटकीय सडक निर्माण गर्दै पर्यटकीय गतिविधि बढाउने, माडीलाई इको नगरपालिकाका रुपमा विकास गर्ने, कृषियोग्य जमिन भएका सबै क्षेत्रमा सिंचाई सुविधा पु¥याउने लगायतका योजनाहरु कार्यान्वयन गर्ने उहाँको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया