चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफू कसैको लहर र रहरमा उम्मेदवार नबनेको बताएका छन् । भरतपुर–२६ मिलनचोकमा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले देश र जनताको विकासको लागि आफूले उम्मेदवारी दिएको बताएका हुन् । जहिलेसम्म जनताले जित्दैन, तहिलेसम्म जनताको जित नहुने पनि नेता पाण्डेले बताए ।

‘त्यसैले जनताले जित्नका लागि तपाइँहरूले विवेक प्रयोग गर्नुहोस्, कुनै पनि पार्टीको निर्देशनको पालना गरिरहनुपर्दैन,’ उनले भने । आफ्नो देश आफैँले बनाउन सकिन्छ भन्ने दृढ विश्वास भएका व्यक्तिलाई छानेर मतदान गरिदिन पनि नेता पाण्डेले आग्रह गरे । ‘म जनताको हरेक चुनौतीसँग सामना गर्न तयार छु,’ उनले भने, ‘त्यसैले पाँच वर्ष मलाई जिम्मा दिनुहोस्, काम गर्ने जिम्मा मेरो भयो ।’

नेता पाण्डेलाई मिलनचोकवासीले भव्य स्वागत गरेका थिए । सयौँ युवाहरुको समूहले नेता पाण्डेलाई जिताउने प्रतिवद्धतासमेत जनाएका थिए । स्थानीय केहेरमान गुरूङले पश्चिम चितवनको विकास र समृद्धिका लागि विक्रम पाण्डे नै सबैभन्दा उत्तम विकल्प भएको बताए । ‘हामीले यसपटक विक्रम पाण्डेलाई उम्मेदवारको रूपमा पाउनु भनेको हाम्रो भाग्य हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया