×

चितवन ।  नागरिकता प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै दुई जनाले आयोगमा उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।

आयोगमा उजुरी परेलगत्तै आयोगले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो । त्यसैअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समयावधि दिएर स्पष्टीकरण सोधेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

उनले भने, ‘तपाई बिरुद्ध आयोगमा उजुरी परेको छ । तपाईलाई लागेको आरोप के सत्य हो ? यदि सत्य हो भने तपाइको उम्मेदवारी आयोगले खारेज किन गर्नु नपर्ने ? स्पष्ट प्रमाणसहित एक हप्ता भित्र स्पष्टीकरण पेस गर्नुहोला भन्ने व्यहोरासहितको स्पष्टीकरण सोधेका छौ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार लामिछानेको सचिवालयलाई स्पष्टीकरण पत्र बुझाइएको जनाएको छ । उनले एक साता भित्र आयोगमा परेको उजुरीबारे स्पष्टीकरणको जवाफ प्रमाणसहित पेस गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया