भरतपुर – नेपाल टेलिकमले सेवा संचालनका लागि बिच्छ्याएको अप्टिकल फाईबरमा क्षति हुँदा भरतपुर र गैंडाकोट क्षेत्रमा सेवा प्रबाहमा समस्या आएको छ । हाल ती क्षेत्रहरुमा मोबाईलमा फोन नलाग्नुका साथै टेलिकमको ल्याण्डलाईन सेवा र इन्टरनेट सेवामा समेत आंशिक अबरोध उत्पन्न भएको छ ।

पुर्ब पश्चिम राजमार्ग अन्तरगत पुलचोक गोन्द्रङ ६ लेन सडक बिस्तारका क्रममा भरतपुर एयरपोर्ट चोकमा डोजरले खन्ने क्रममा फाईबरमा क्षति पुगेको नेपाल टेलिकमका निमित्त कार्यालय प्रमुख खेमराज लामिछानेले बताउँनुभयो ।

उहाँका अनुसार करिब ७ लाख बराबरको आर्थिक क्षती भएको छ भने ठेकेदार कम्पनीले सो को क्षतीपुर्ती गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय समक्ष टेलिकमले निवेदन पेश गरेको छ । साथै आगामी दिनमा समेत ढल, सडक निर्माण गर्दा कार्यालयसंग समन्वय गरि काम अगाडी बढाउँन आग्रह गरिएको छ ।

प्रशासन समक्ष प्रस्तुत पत्रका अनुसार १४४ कोरको ३ ओटा, ९६ कोरको २ ओटा, ४८ कोरको २ ओटा, २४ कोरको १ र १२ कोरको २ ओटा केबलहरुमा पुर्णरुपमा क्षति पुगेको छ । अबरुद्ध सेवा आज बुधबार साँझबाट सुचारु हुने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया