×

चितवन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र मालपोत कार्यालयमा कर्मचारीका लागि केन्द्र राख्न लागिएको हो ।

कारागार कार्यालय चितवनमा रहेका एक सय दुई जना कैदीबन्दीले मतदान गर्दै छन् । कारागार कार्यालयमा रहेका सात सय ९५ जना कैदी बन्दीमध्ये अन्तिम मतदाता नामावलीमा नाम रहेका उनीहरुले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार उनीहरुले कारागार कार्यालयमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा मतदान गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै कर्मचारीलाइ मतदान गर्नका लागि मालपोत कार्यालयमा पनि अथायी मतदान केन्द्र राखिने भएको छ । जिल्लामा रहेर निर्वाचनमा खटिएका कर्मचारी र अस्थायी मतदाताका लागि सो मतदान केन्द्र राख्ने तयारी गरिएको हो । मतदान केन्द्रमा एक हजार पाँच सय ४४ जना मतदाताले मतदान गर्ने छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारीलेले सो मतदान केन्द्रबाट मत हाल्ने छन् । यहाँ राखिएको मतदान केन्द्रबाटसमेत प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको मतदान हुने कार्कीले बताउनुभयो । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा चार लाख आठ हजार तीन सय ४२ मतदाताले सहभागिता जनाउन लागेका छन् ।

जसमध्ये दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना रहेको कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार एक सय ६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदै छ ।

जिल्लाको क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ जना मतदाताले ४३ मतदानस्थलमा रहेका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

यस्तै चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई ८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रो लिङ्गी मतदातालेसमेत निर्वाचनमा सहभागिता जनाउने कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया