चितवन ।  पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले विकासमा लागेको ग्रहण मंसिर ४ पछि हट्ने दाबी गर्नुभएको छ । भरतपुर–१९ शारदानगरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विकासमा ग्रहण लगाउनेहरुलाई जनताले विदाई गर्ने मौका आएको बताउनुभयो ।
“विकासमा सूर्यग्रहण, चन्द्रग्रहणले छोएजस्तो देखियो, अब जनताले ग्रहण हटाउने छन्”, उहाँले भन्नुभयो, “विकास, समृद्धिका लागि भुगोल चिनेको, जनतासँगै भएको नेतालेनै जित्नु आवश्यक छ ।”

उहाँले चितवन–३ लाई समृद्ध बनाउन यसपाली आस्था, विचार भन्दा माथि रहेर आँफुलाई जिताउन आग्रह गर्नुभयो । “हार्दा पनि भागिन, जित्दा पनि जनतासँगै रहेँ”, उहाँले भन्नुभयो, “यसपाली राजनीति गर्न आएकालाई होइन विकास समृद्धिका लागि योग्य व्यक्तिलाई जनताले रोज्नुपर्छ ।”
उहाँले चितवन–३ लाई कृषि, पर्यटनको हबका रुपमा विकास गरेर सबल अर्थतन्त्र भएको क्षेत्रका रुपमा स्थापित गरिने बताउनुभयो । उहाँले देशको अस्तित्व जोगाउनका लागि सदनबाट आवाज उठाउनुपर्ने देखिएको बताउनुभयो ।

“सदनमा चितवन–३ को विकास र देश जोगाउने बारे आवाज उठाउन यसपाली जिताउनुहुने अपेक्षा छ”, उहाँले भननुभयो, “एक पल्ट काम गर्ने मौका दिनुस्, विकास गर्ने कसरी देशले अनुसरण गर्ने गरी काम गरेर देखाउनेछु ।” उहाँले धर्म, संस्कृति, धार्मिक सम्पदाहरुको संरक्षणका लागि राप्रपाले सशक्त भूमिका खेल्ने बताउनुभयो ।

पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । यस्तै चितवन ३ ९ख० बाट प्रदेशसभा सदस्यका उम्मेदवार रिना गुरुङले चितवन–३ लाई विकासको गतीमा लैजानमा विक्रम पाण्डेनै योग्य उम्मेदवार भएको दाबी गर्नुभयो । उहाँले दलीय आस्थाका आधारमा भोट हाल्दा चितवन–३ ले विकासमा ५ वर्ष गुमाएको गल्ती सम्झन समेत आग्ह गर्नुभयो ।

तपाईको प्रतिक्रिया