गैँडाकाेट। नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको निःशुल्करूपमा पहिलो पटक शल्यक्रिया गरी छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले जानकारी दिए ।जिल्ला कै बुलिङटार-४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोले पोलेको दाहिने हातमा छाला प्रत्यारोपण गरिएको हो । सार्कीको हातको कुहिनो (एल्बो)  एरियामा पोलेको थियो ।

जनरल सर्जन डा. अर्चन घिमिरे, डा. कमलराज न्यौपाने, डा. जितेन्द्र कण्डेलको टीमले शल्यक्रियामार्फत छालाको प्रत्यारोपण गरेको थियो ।विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उनको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले बताए ।

डढेको भाग पहिले जस्तै हुने भएपछि खुसी भएको तुलबहादुरले बताए । उनकी श्रीमती पदमकुमारी सार्कीले पोलेको घाउ कसरी सच्चो होला भनेको त छाला समेत राम्रो हुन्छ भन्ने थाहा पाउँदा खुसी मिलेको बताइन् ।नवलपुर जिल्लामा सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छालाको प्रत्यारोपण गरिएकोले यसलाई थप निरन्तरता दिइने अस्पतालका जनरल सर्जन डा.अर्चन घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया