चितवन । पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले जनताको काम गर्ने व्यक्तिलाई जिताउन अपील गर्नुभएको छ । राप्रपा भरतपुर २१ को पार्वतीपुर बजारमा चुनाव प्रचार प्रसार समितिको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उहाँले जनताका दुखमा साथ दिने जनप्रतिनिधि रोज्नुपर्नेमा जोड दिनुभएको छ ।

“चुनावका बेला फकाउन धेरै आउँछन्, प्रलोभनमा नपर्नुस”, उहाँले भन्नुभयो, “जनताको काम गर्ने हिम्मत भएको व्यक्तिलाई जिताऔँ, जनताका हरेक फोन उठाएर दुखमा आइहाल्ने नेतृत्व रोजौँ ।” उहाँले २०५६ सालदेखि निरन्तर एकै निर्वाचन क्षेत्रबाट आँफुले चुनावमा भाग लिदै आएको बताउँदै जनताका हरेक समस्याबारे जानकार रहेको बताउनुभयो । “जनताका समस्यासँग जुद्धन तयार छु, यसपाली जिताएर पठाउनुस”, उहाँले भन्नुभयो, “चितवन–३ लाई देशकै नमुना क्षेत्र बनाउनेछु ।”

उहाँले विकास निर्माणमा लाग्दै आएको व्यक्तिले चुनाव जितेमा विकासका ठुला आयोजनाहरु ल्याउन सम्भव हुने बताउनुभयो । “असारमा कोदो लगाएर मंसिरमा धान काट्न खोजेर हुदैन”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “आहारा दिएर चरा धरापमा परेजस्तो नबनौँ, काम गर्न सक्ने व्यक्तिलाई रोजौँ ।” उहाँले विकास गर्न नजान्नेले जनताको सेवा गर्न नसक्ने दाबी गर्नुभयो । समाजसेवा गर्ने लक्ष्य लिएर फेरी जनता माझ आएको बताउनुभयो ।

राप्रपाबाट पाण्डे चितवन–३ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । राप्रपाबाट चितवन ३ (क) मा गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र ३ (ख)मा रिना गुरुङ प्रदेश सभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । राप्रपाले चितवनका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । यसैबीच, राप्रपाले भरतपुर–१४ शिवनगर र भरतपुर–२१ पोखरी चोकमा चुनाव प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया