×

चितवन । नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर २ मा प्रभावशाली नेता उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन । आज उनले २ नम्बर क्षेत्र को भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ३ बजेतिर संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।  प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत रहेका श्रेष्ठले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफू चितवन आएको बताए । उनले चितवन धेरै संभावना ठाउँ भएको र यहांँ अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले जितेमा यस क्षेत्रको आमुल परिवर्तन गर्नेमा विश्वास दिलाए ।

को हुन उमेश श्रेष्ठ ?

२०१२ साल माघ २० गते पूर्वी नेपालको भोजपुर बजारमा जन्मिएका उमेश श्रेष्ठ हाल ललितपुर उपमहानगरपालिका ३, झम्सीखेलमा अस्थाई बसोबास गर्छन् । भरतपुर महानगरपालिका ५ कल्याणपुरमा पनि उनको घर, जग्गा छ । उनको हालको स्थाई ठेगाना यही हो । एक कार्यकाल संविधान सभा सदस्य र एक कार्यकाल प्रतिनिधिसभा सदस्य बनिसकेका श्रेष्ठ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको राज्यमन्त्री हुन् । यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री थिए ।

भोजपुरबाट एसएलसी दिएपछि उच्चशिक्षाको चाहना र अवसरको खोजीमा ५० वर्षअघि काठमाडौँ पुगेका उनले विगत ४२ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरतरुपमा काम गर्दै आएका छन् । एमए, बिएडको अध्ययन पूरा गरेका श्रेष्ठले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष भई दुई कार्यकाल र अध्यक्ष भई दुई कार्यकाल काम गरिसकेका छन् । लिटिल एञ्जल्स एजुकेसन ग्रुपका संस्थापक अध्यक्ष श्रेष्ठ उच्च माध्यमिक विद्यालय एसोसिएसनका प्रमुख सल्लाहकार हुन् । यसअघि उनी उमावि एसोसिएसनको अध्यक्ष भइसकेका छन् ।

काठमाडौँमा रहेको नेपाल एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष श्रेष्ठ स्मल हेभन उच्च मावि चितवनको संस्थापक अध्यक्ष हुन् । ललितपुरमा रहेका लिटिल एञ्जल्स स्कुल, लिटिल एञ्जल्स कलेज अफ म्यानेजमेन्ट र आइडियल मोडेल स्कुलको पनि संस्थापक अध्यक्ष हुन् । श्रेष्ठ मिलेनियम पब्लिकेसन प्रा।लि। हात्तीवन, ललितपुरको अध्यक्ष पनि हुन् ।

कृषि सम्वद्ध संस्थाहरु हिमालयन फ्लोरा ललितपुर, सगरमाथा टी स्टेट संखुवासभा, डाँडा बोखिम नमुना कृषि तथा परामर्श केन्द्र भोजपुर, जिरी एकीकृत नमुना कृषि तथा परामर्श केन्द्र दोलखा र अर्किड फार्म ललितपुरमा समेत श्रेष्ठ अध्यक्ष छन् । जनमैत्री अस्पताल काठमाडौँको सञ्चालकरअध्यक्ष रहेका उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल काठमाडौँ ट्रस्टिजको अध्यक्ष हुन् ।
जलविद्युत परियोजनातर्फ पनि श्रेष्ठ सक्रिय छन् । माउन्टेन इनर्जी म्याग्दीका संस्थापक उनी भिजन इनर्जी रामेछाप, बुङ्गल र कालङ्गा हाइड्रो बझाङका निर्देशक हुन् । श्रेष्ठ बझाङको सानिगाड हाइड्रो र पाँचथर पावर कम्पनीको पनि अध्यक्ष रहेका छन् ।

सिराइचुली होटेल भरतपुरको निर्देशक रहेका श्रेष्ठ चितवनको शुभकामना हाउजिङ एण्ड रियल स्टेटको अध्यक्ष हुन् । उनी सेन्टर पार्क रिसोर्ट चितवन र हिमालयन दृश्य रिसोर्ट धुलिखेलको पनि अध्यक्ष हुन् । उनले अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, स्विडेन, इटाली, पोर्चुगल, अफ्रिका, अष्ट्रेलिया, रुस, चीन, भारत, जापान, मलेसिया, स्पेन, डेनमार्क, नर्वे, कतार, भियतनाम, कम्बोडियालगायत तीन दर्जन मुलुकको शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।

विभिन्न स्वास्थ्य संस्थामा आवद्ध श्रेष्ठले कोरोना महामारीका बेला स्वास्थ्योपचारको क्षेत्रमा ठूलो योगदान पु¥याएका थिए । उनले कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र उद्योग क्षेत्रहरुमार्फत देशमा दिगो आर्थिक विकास तथा रोजगारी सिर्जना गर्नुका साथै युवा उद्यमशिलता वृद्धिमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् । श्रेष्ठले उनीद्वारा स्थापित लिटिल एञ्जल्स स्कुल र कलेजलाई सगरमाथा विश्वविद्यालयमा रुपान्तरण गरी दीर्घकालसम्म देशको उच्चशिक्षामा गुणस्तरीय तथा अनुसन्धानात्मक पठनपाठनमा टेवा पु¥याउने योजनाको आरम्भ गरेका छन् ।

नेपालको समृद्धि र विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युत, पर्यटन, जडिबुटी, बैंकिङ, सञ्चार र प्रकाशन क्षेत्रमा आवद्ध भई काम गर्दै आएका श्रेष्ठ विगत पाँच वर्षदेखि राजनैतिक क्षेत्रमा क्रियाशील छन् । अब राजनीति र समाजसेवामार्फत देश र जनताको सेवा गर्ने लक्ष्य आफूले लिएको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया