चितवन– नेकपा (एमाले) ले चितवन क्षेत्र नं.१ को टुंगो लगाउन ढिलाई गरेको छ । बागमती प्रदेशका सबैजसो जिल्लाको टिकट टुंगो लगाएको एमालेले बलियो मानिएको चितवन क्षेत्र नं.१ को टिकट टुंगो लगाउन ढिलाई गरेको छ ।

यस क्षेत्रबाट एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य जेएन थपलियाको नाम सिफारिस भएपछि पार्टी नेतृत्वले टिकट टुंगो लगाउन ढिलाई गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले थपलियालाई उम्मेदवार बनाउन चाहेका छन् । पाण्डे नेकपा विभाजन हुने क्रममा माधव नेपाललाई साथ दिएका थिए । नेपालले अन्तिम अवस्थामा पार्टी फुटाउन थालेपछि मात्रै उनी एमालेमै रहँदै ओलीको साथमा पुगेका थिए ।

उनी ओलीकै चाहनामा सौराहामा भएको दशौं महाधिवेशनबाट एमालेको उपाध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी ओलीको बचाउँ गर्दै आइरहेका छन् । तर ओलीको खास नेताको रुपमा चिनिएका थपलियाको टिकट पाउने संभावना पनि बलियो छ । स्रोत भन्छ–‘ओलीको चाहना जेएन थपलिया नै हो, आज टिकट टुंगो लाग्छ ।’

क्षेत्र नं.१ को प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगो लागेको छैन । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका सबै पालिकाहरुमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए । दुई पालिकामा भने एमालेले उपप्रमुखमा जित हात पारेको थियो ।

यस्तै एमालेले क्षेत्र नं.३ को पनि टुंगो लगाउन बाँकी राखेको छ । यस क्षेत्रमा राप्रपासंग तालमेल गर्ने भएकाले एमालले टिकट टुङग्याउन सकेको छैन । एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने एकल सिफारिसमा परेका थिए । तर तालमेलको प्रयासले उनको टिकट खोसिने संभावना पनि बढेको छ । स्रोत भन्छ–‘राप्रपासंग आज निर्णायक टुंगो लाग्दैछ, चितवन ३ राप्रपालाई दिएर विक्रम पाण्डे उठ्ने संभावना बलियो छ, राप्रपाले नपाए रामप्रसाद न्यौपाने नै फाइनल उम्मेदवार हो ।’
एमालेले यस क्षेत्रको प्रदेशसभातर्फको (क) मा कृष्ण भुर्तेल र (ख)  सरस्वती विष्टलाई टिकट दिएको छ ।

त्यस्तै एमालेले क्षेत्र नं.२ को प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभामा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले नै टिकट पाएका छन् प्रदेशतर्फ (क) मा कृष्ण सिलवाल र (ख) मा देवी ज्ञवालीले टिकट पाएका छन् ।

तपाईको प्रतिक्रिया