चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई केही गोरखाका नेता र जनप्रतिनिधिहरूले भेटेर गोरखा–२ बाट उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन् । चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मिहिनेत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने उनीहरूको तर्क छ ।

’चितवनको अवस्था के छ थाहा छैन तर गोरखा आउने हो भने मनोनयनपत्र दर्ता गरे पुग्छ, हामी जिताएर पठाउँछौं,’ गोरखाका प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रचण्डनिकट स्रोतले भन्यो, ’अध्यक्ष रोल्पा, काठमाडौं, मधेस र चितवन जानुभयो, अब गोरखाको पालो । हिजो जनयुद्धमा रोल्पाले जस्तै गोरखाले पनि त्याग गरेको छ, अब उहाँलाई हामीले जिताउन पाउनुपर्छ ।’

यसपालि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र माओवादीको चुनाव चिह्न लिएर लड्न लागेका बाबुराम भट्टराईले समेत निर्वाचन नलड्ने भनेपछि प्रचण्ड गोरखा आउनैपर्ने उनीहरूको दबाब छ । गोरखा–२ बाट २०७० को निर्वाचन जितेका माओवादी केन्द्रका सचिव हितराज पाण्डेले भने प्रचण्ड गोरखा आउने चर्चा चले पनि टुंगो नलागिसकेको बताए ।

प्रचण्डले पनि गोरखाबाट निर्वाचन लड्नुपर्ने प्रस्तावलाई गम्भीर रूपमा लिएको भन्दै आफू चितवनबाटै निर्वाचन लड्ने बताएका थिए । तर सोमबार भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता-कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए ।

’माडीदेखि नारायणघाटसम्मका गठबन्धन पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरू खुमलटार आएका थिए । हामीभित्र धेरै कुरा होलान् तर अध्यक्षलाई रेनुजीलाई भन्दा ठूलो अन्तरले जिताउँछौं भनेर कांग्रेसका नेता तथा कार्यकर्ताले भनेका छन्,’ माओवादीका एक नेताले भने, ’गोरखाका साथीहरूले पनि उतै आउनुप¥यो भन्नुभएको छ । प्रचण्ड भनेको घुमिराख्ने हो भन्नेजस्तो भइसकेको छ । त्यो हिसाबले उहाँलाई गोरखा वा अन्तबाट लड्न अप्ठ्यारो छैन । चितवनबाट लड्न पनि अप्ठ्यारो छैन ।’

चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता–कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरक–फरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए ।

तपाईको प्रतिक्रिया