
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् ।पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्ड विरुद्ध उम्मेदवार हुने कुरा भएन,’ शेखर कोइराला पक्षका घिमिरेले भने ।
नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भनाइ छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ । ‘४० भनेर ४० प्रतिशत नै हुनुपर्छ भन्ने होइन, न्यायोचित हुनुपर्यो,’ शेखर पक्षको खबरदारी कार्यक्रमको अगुवाइ गर्दै आएका घिमिरेले भने, ‘त्यसमा ४/५ प्रतिशत तलमाथि हुनसक्छ । तर, न्यायोचित हुनुपर्छ ।’
सत्ता घटकका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको बलमा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षलाई बेवास्ता गरेको बुझाइ समेत शेखर समूहमा छ ।