×

चितवन ।  नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज असोज ४गते  देखि ५० औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले ५० औँ वर्ष अर्थात स्वर्ण वर्षको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।

यहीँ असोज ०७ गते औपचारिक कार्यक्रम गरि स्वर्ण वर्ष शुभारम्भ गरिँदै छ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । निकुञ्जले स्वर्ण वर्ष मनाइरहँदा संरक्षण भने अझै पनि चुनौतिपूर्ण छ । निकुञ्जको प्रमुख पहिचानका रुपमा रहेको दुर्लभ एकसिंगे गैंडा मर्ने र मार्ने क्रम रोकिएको छैन ।

निकुञ्ज आसपास बसोबास गर्ने आदिवासी समुदायले परम्परागत अधिकार नपाएको दुखेसो गर्दै आएका छन् । अन्य स्थानीय विकासे पुर्वाधारका लागि निकुञ्ज बाधक बनेको आक्रोश पोख्ने गरेका छन् । संरक्षणकर्मीमा पनि विस्तारै निकुञ्जप्रति वितृष्णा जाग्ने खतरा बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज चितवन जिल्लाको पहिचान मात्र नभएर देशको गौरव पनि हो ।

स्वर्ण वर्ष प्रवेशको अवसरमा स्मारिका प्रकाशन गर्ने , स्वर्ण स्तम्भ अनावरण गर्ने , मध्यवर्ती क्षेत्रका बोटे , कुमाल , थारू , गुरुङ , मगर , तामाङ , दरै , आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिएको छ । यो निकुञ्ज ९५२।६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा , पाटे बाघ , सोंस , गौरीगाई , काठे भालु , चितुवा , रतुवा , चित्तल , लगुना , जरायो , चौसिङ्गे , बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् ।

यसैगरी , घडियाल गोही , मगर गोही , अजिङ्गरलगायत सरिसृप तथा उभयचर , बसाइँ सरी आएका र रैथाने गरि ५ सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवम् विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यस निकुञ्जले चुरे पहाड , राप्ती , नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

संरक्षणमा गरिएको प्रयासस्वरुप यस निकुञ्जमा हाल पाटेबाघको सङ्ख्या एक सय २८ र गैँडाको सङ्ख्या ६ सय ९४ पुगेको छ । पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैँडा मारिएका छैनन् । यस निकुञ्ज स्थापनासँगै वि।सं। २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो ।

व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नम्बर २ , वाग्मती प्रदान र गण्डकी प्रदेशका चितवन , मकवानपुर , पर्सा र नवलपरासी जिल्लाका केही भू – भागहरूमा फैलिएको छ । निकुञ्जमा १ महानगरपालिका , ८ नगरपालिका र ३ गाउँपालिका पर्दछ । ती पालिकामा २ लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा , भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ ।

हालसम्म रु.१ अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको दाबी गरे । पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अफ्ठ्याराहरु भएको भन्दै तिनीहरुलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ । निकुञ्ज स्थापनाको ५० औँ वर्षको अवसरमा वर्षभरिनै संरक्षणसँग सम्वन्धित विभिन्न गतिविधिहरु गरिँदै छ ।

तपाईको प्रतिक्रिया