×

चितवन। चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् ।

घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाहरुले गरेको गुनासोका आधारमा भदौ ३१ गते दिउँसो करिब साढे ११ बजेको समयमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकम सहित प्रहरीले पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।चितवन जिल्ला अदालतबाट आइतबार ठगी उद्योग कसुरमा म्याद अनुमति लिएर घिसिङमाथि थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया