×

काठमाडौं । सर्वोच्च फर्किने तयारी गरेका ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अघोषित नजरबन्दमा राख्दै सुरक्षा निकायले उनको सरकारी निवासमा कडा पहरा दिइरहेको छ । हिजो रातिबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूमाथिको महाअभियोग निस्क्रिय बनेको निष्कर्ष साथ राणाले आज ११ बजे सर्वोच्च जाने तयारी गरेका थिए ।

माथिको आदेशमा सुरक्षाकर्मीले राणालाई निवासमै रोक्ने गरी ‘नजरबन्द’ मा राखेका हुन् । पदबाट निलम्बित भएपनि महाअभियोगको छिनोफानो नभएकाले राणाले बालुवाटारस्थित सरकारी निवास छोडेका छैनन् । आज बिहानैदेखि उनको निवासबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । राणालाई बाहिर निस्किन नदिने रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रधानन्यायाधीश निवासको गेट भने आवागमनका लागि खुल्ला नै छ । गेटबाट कुनेपनि गाडी छिर्दा बाहिर बसेका सुरक्षाकर्मीले गाडी नम्बर टिपिरहेका छन् ।यस्तै गेटबाट निस्किएका गाडीहरूलाई भित्र राम्ररी नियालेर मात्रै बाहिर जान दिइएको छ । अरुबेला गेटको दुई साइडमा छरिएर बस्ने सुरक्षाकर्मी कुनै गाडी आउनासाथ गेट ब्लक हुने गरी छपक्कै छोपेर निकालिरहेका छन् ।बाहिरको माहोल बुझिरहेका राणा अहिलेसम्म बाहिर निस्किन प्रयास गरेका छैनन् ।

तपाईको प्रतिक्रिया